Section 2
परिभाषा :

विषय वा प्रसङ्गले अर्काे अर्थ नलागेमा यस ऐनमा,–
(क) “ज्येष्ठ नागरिक” भन्नाले साठी वर्ष उमेर पूरा गरेको नेपाली नागरिक सम्झनु पर्छ ।
(ख) “असहाय ज्येष्ठ नागरिक” भन्नाले देहायको कुनै वा सबै अवस्थाको ज्येष्ठ नागरिक सम्झनु पर्छ :
(१) जीवनयापन गर्ने कुनै आधार, आयस्रोत वा सम्पत्ति नभएको,
(२) पालनपोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएको,
(३) परिवारको सदस्य भए पनि निजले पालनपोषण नगरी अपहेलित वा उपेक्षित जीवनयापन गर्नु परेको ।
(ग) “अशक्त ज्येष्ठ नागरिक” भन्नाले शारीरिक वा मानसिकरुपले अशक्त ज्येष्ठ नागरिक सम्झनु पर्छ ।
(घ) “हेरचाह केन्द्र” भन्नाले ज्येष्ठ नागरिकलाई शुल्क लिई वा नलिई पालनपोषण तथा हेरचाह गर्नको लागि यस ऐनबमोजिम स्थापना तथा सञ्चालन भएको घर, आश्रम वा यस्तै प्रकृतिका अन्य संरचना सम्झनु पर्छ ।
(ङ) “दिवा सेवा केन्द्र” भन्नाले ज्येष्ठ नागरिकलाई शुल्क लिई वा नलिई दिउँसोको समयमा हेरचाह गर्नको लागि यस ऐनबमोजिम स्थापना तथा सञ्चालन भएको घर, आश्रम वा यस्तै प्रकृतिका अन्य संरचना सम्झनु पर्छ ।
(च) “पालनपोषण तथा हेरचाह” भन्नाले ज्येष्ठ नागरिकलाई खाने, लाउने, बस्ने, घुमफिर
गर्ने, मनोरञ्जन गर्ने र धार्मिक कार्यमा संलग्न हुने तथा स्वास्थ्य सेवाको व्यवस्था मिलाउने जस्ता कार्य सम्झनु पर्छ ।
(च१) “सन्तान” भन्नाले प्रचलित . कानून बमोजिम सन्तानको हैसियतप्राप्त व्यक्ति सम्झनु पर्छ ।
(च२) “सेवा केन्द्र” भन्नाले दफा: २०क. बमोजिमको ज्येष्ठ नागरिक सेवा केन्द्र सम्झनु पर्छ र सो शब्दले ज्येष्ठ नागरिकको हेरचाह र संरक्षण गर्न स्थापना र सञ्चालन हुने: हेरचाह केन्द्र ज्ञान सीप हस्तान्तरण केन्द्र, आश्रम वा यस्तै प्रकृतिका तीनै तहमा गठन हुने. सरकारी संरचनालाई समेत जनाउँछ।
(च३) "स्थानीय तह" भन्नाले गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ ।
(छ) “परिवारको सदस्य” भन्नाले ज्येष्ठ नागरिकको देहायको नातेदार सम्झनु पर्छ :
(१) सगोलको छोरा, बुहारी, छोरी, छोरातर्फकाे नाति, नातिनी,
(२) उपखण्ड (१) बमोजिमका सदस्य नभएमा छुट्टिई भिन्न बसेको छोरा, बुहारी, छोरी, छोरातर्फ़र्को नाति, नातिनी,
(३) उपखण्ड (२) बमोजिमका नातेदारसमेत नभएमा नजिकका अन्य नातेदार ।
(ज) "हकवाला" भन्नाले मुलुकी देवानी संहिता, २०७४ को अपुताली सम्बन्धी परिच्छेद बमोजिम ज्येष्ठ नागरिकको अपुताली पाउने हकवाला सम्झनु पर्छ।
(झ) “ज्येष्ठ नागरिक क्लब” भन्नाले ज्येष्ठ नागरिकले आफ्नो हकहित र अधिकार संरक्षणको लागि प्रचलित कानूनबमोजिम स्थापना गरेको क्लब सम्झनु पर्छ ।
(ञ) “कोष” भन्नाले दफा १७ बमोजिम स्थापना भएको ज्येष्ठ नागरिक कल्याणकोष सम्झनु पर्छ ।
(ट) “तोकिएको अधिकारी” भन्नाले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अधिकारी सम्झनु पर्छ ।
(ठ) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।